काठमाडौँ, ६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उनको भनाइ छ । अन्तर्घात छानविनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।
सो छानविन समितिको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा आज बुझ्द उनले पार्टीभित्रको अनुशासन तोड्ने कार्य आफैँमा गम्भीर रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
उनले दोषीलाई कारवाही नगरे माओवादी कम्युनिस्ट पार्टी जस्तो पनि नरहने बताए । “अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन”, उनले भने । उनले निर्वाचनमा भएको अनियमितता र गडबडी सच्याउनेभन्दा पनि पार्टीलाई विधि र अनुशासनमा चलाउने विषयसँग सम्बन्धित रहेको उल्लेख गरेका हुन् ।







