Logo

‘पार्टीले एक्लै निर्वाचन जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन’



काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् ।

बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै पार्टीका प्रवक्ता प्रकाशशरण महतले पार्टीले एक्लै जित्ने ठाउँमा गठबन्धन नगर्ने भनी केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताए ।

प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जबरजस्ती निर्णय लाद्न खोजेको भनी गलत प्रचार गरिएको बताए । उनले पार्टी सभापतिले जबरजस्ती निर्णय नलाद्ने र यसबारे केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिए ।

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरूले ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी सङ्गठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको पनि प्रवक्ता महतले बताए ।

प्रतिक्रिया दिनुहोस्