काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।
आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको नेतृत्वदायी दायित्व भएको बताएका हुन् ।
उनले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए । उनले कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भूमिका खेल्नुपर्ने जानकारी दिए ।
उनले कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरूले अन्य पार्टीहरूसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकूल काम गर्नुपर्ने बताए । उनले सिङ्गो राष्ट्रलाई एकताबद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणाली, यसको शासकीय स्वरूप, तीन तहको सरकार छ सङ्घीयताअन्तर्गत । लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य हो । हामीले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई जनताको हितमा, संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्न सक्नुपर्छ हामीले । हामीले राष्ट्रिय सभा, प्रतिनिधि सभामा होस् अथवा पार्टीहरूले आफ्नो सङ्गठनबाट निर्माण गर्ने नीतिका प्रक्रियाहरू किन नहुन् सबै जनताप्रति समर्पित भावले नै हामीले गर्दै आएका छौँ हामी त्यही गर्छौँ भोलिका दिनमा पनि ।,’’ राष्ट्रियसभा सदस्य सिटौलाले भने, ‘‘जनताको पक्षमा हामीले जानेको सर्वोत्तम कार्य के हो त्यही कुरा हामी गर्दै जान्छौँ । नेपाली कांग्रेसको अरू पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी सङ्गठनले थोरै हौँ अथवा धेरै । अन्य पार्टी भन्दा नेपाली कांग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ । अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ ।’’
नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताए । उनले आफूहरूले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने पनि बताएका हुन् ।
‘‘हामीले सबैलाई मिलाएर सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ । व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा पनि गर्नुछ । जनतालाई आर्थिक प्रगति पनि दिनुछ । नेपाल स्वतन्त्र, स्वाधीन देश छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भनेर दुनियाँलाई प्रमाणित गर्दै पनि जानुछ । आफ्नो देशको समस्या आफैँ उभिएर समाधान गर्नसक्छौँ भन्ने सन्देश दुनियाँलाई दिँदै जानु छ हामीले ।,’’ सदस्य सिटौलाले भने, ‘‘त्यसैले राष्ट्रिय सभामा भएका हाम्रा साथीहरूले अन्य पार्टीहरूसँग पनि सहमति, सहकार्य गरेर, एकता गरेर राष्ट्रको हितमा हाम्रो अथवा अर्काको स्वार्थको खातिर होइन जनताका स्वार्थका खातिर बलियो नेपाल निर्माण गर्नका लागि हामीले मिलेर काम गर्नु छ आपसमा पनि । र त्यहाँभित्र पनि । सिङ्गो राष्ट्र एकताबद्ध गरेर अगाडि जानु छ र बलियो राष्ट्र निर्माण गर्नुछ ।’’





