काठमाडौँ, ७ असार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र पार्टी एकताका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
साथै दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ । विप्लवसहित माओवादी केन्द्र जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि नेपालको राजनीति तरङ्गित बन्दै आएको छ ।
प्रचण्ड र विप्लवबीचको भेट माओवादी केन्द्र, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकता गर्ने पूर्व तयारीको रुपमा पनि हेरिएको छ । तीन पार्टी एकता गरेर नेकपा (समाजवादी केन्द्र) निर्माण गर्ने तयारी भएको बताइएको छ ।







