नेपालका दुई कम्युनिष्ट पार्टी बिच पार्टी एकता हुन लागेको छ । कुनै बिघ्न आइ परेन भने पार्टी एकता निश्चित प्रायः छ । पार्टी एकताको रुप पक्षलाई सबैले स्वागत गरेका छन् । तर, माओवादी पंतिबाट पार्टी एकता नभएर बिलय हुने त होइन ? भन्ने पनि प्रश्न उठ्न थालेको छ । पार्टी एकता बिचार, सिद्धान्त र कार्यशैलीका आधारमा आन्दोलन, क्रान्ति वा परिवर्तनका लागि हुने हो । पार्टी एकता गर्दा बुर्जवा पार्टीले त यस्ता कतिपय मान्ता स्वीकार गरेका हुन्छ् । बिचार मिल्नेसँग पार्टी एकता गर्ने गरेका छन् । त्यसमा पनि कम्युनिष्ट पार्टी मूलतः माक्र्सवादी दर्शनलाई स्वीकार गरि स्थापित भएका पार्टी सिद्धान्त र विचारको पक्षलाई प्रधानता दिनु पर्ने हुन्छ ।
शोषण, दमन, अन्याय, अत्यचार, कुरुती, कुसंस्कारका बिरुद्ध कम्युनिष्ट पार्टीले जेहाद नै छेड्छन् । वैज्ञानिक भौतिकवादी विचारले लैश भएका हुन्छन् कम्युनिष्ट कार्यकर्ता । त्यस्ता कार्यकर्ता समाजको व्याख्या मात्र होइन बदल्न अभियानमा हुन्छन् । यस्तो उच्च आदर्शमा हिँड्ने कम्युनिष्ट नेता, कार्यकर्ता भएका पार्टी बिचको एकता निकै सुन्दर हुँदो हो । तर, नेपालका दुई कम्युनिष्ट पार्टीको एकतालाई त्यहि कोटीमा राख्न के सम्भव छ ?
माओवादीका एक नेताले एमाले माओवादी बिचको पार्टी एकतालाई दुई खराब कम्युनिष्ट पार्टी बिचको एकता भनी टिप्पणी गरे । एकता कै पक्षमा देखिएका उनले भने, दुई खरावलाई मिलाए अलिकति भएपनि राम्रो बनाउन सकिन्छ कि कोशिस गर्ने हो । एकताको पक्षमा लागेका अर्का नेताले दुई पार्टी बिच एकता नभएर प्रचण्ड र केपी ओली बिचको एकता भएको टिप्पणी गरे ।
निर्वाचन अघिबाटै प्रचण्डलाई एमाले र ओलीलाई माओवादी चाहिएको थियो । एमालेलाई शक्तिशाली अर्थात ठूलो पार्टी बन्न माओवादीको साथ अनिवार्य थियो । काँग्रेससँगको तालमेल असफल भएपछि अतित्व सक्षाका लागि माओवादीलाई एमालेको साथ चाहिएको हो । यसैका लागि भएका वार्ता र छलफल एकताको तहमा आइपुगेको हो । चुनाव अघि पार्टी एकता अलिक बढी एमालेलाई चाहिए जस्तो, चुनावी परिणाम पछि माओवादीलाई चाहिए जस्तो देखिएको छ ।
दुई पार्टीका दुई नेता वैचारिक हिसावले होइन प्राविधिक हिसावले पार्टी एकता गर्ने तहमा पुगेका छन् । वैचारिक मुद्धालाई महाधिवेशनमा लगेर छलफल गर्ने भन्दै एकता गर्नु भनेको प्राविधिक एकता मात्र हो । नेतृत्व तहनै विचारको प्रश्नमा प्रष्ट नभई कसरी महाधिवेशनले विचार निर्माणको प्रश्न हल गर्न सक्छ ?
एमाले उत्पतिको आधार सशस्त्र आन्दोलन भएपनि उसले लामो समयदेखि शान्तिपूर्ण प्रतिस्प्रर्धालाई स्वीकार गर्यो । उसले प्रतिस्प्रर्धा नै सिद्धान्त हो भन्ने मान्यता स्वीकार्यो । झापा बिद्रोह क्रान्तिकारी भावनामा आधारित थियो । यसका उदेश्य र लक्ष्य क्रान्तिकारी भएपनि वस्तुवादी नहुँदा बिद्रोहले निरन्तरता पाउन सकेन । तर, माओवादीको जग भनेको दश वर्षको जनयुद्धको बिकास र त्यसका परिणाम नै हुन् । झापा बिद्रोहले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई सशक्त ढंगले अघि बढायो । कम्युनिष्ट पार्टी जनताका बिचमा शुसंगठित ढंगले स्थापित गर्यो । जनताको चेतना स्तर बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो । झापा बिद्रोहले आन्दोलनको काम गर्यो भने जनयुद्ध एक क्रान्ति थियो । झापा बिद्रोह एक अंश थियो भने जनयुद्ध समग्र थियो । झापा बिद्रोह भन्दा दशौं गुणा बढी जनयुद्धले समाज रुपान्तरणमा निर्णायक भूमिका खेल्यो । जनयुद्धले राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना, संघीयता, धर्म निरपेक्षता, समावेशी सिद्धान्त, सीमान्तकृत वर्ग र समुदायका अधिकार स्थापित गर्यो । जनयुद्ध नेपालका लागि मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि प्रेरणाको स्रोत बन्यो ।
जनयुद्धले बल प्रयोगको सिद्धान्तलाई स्थापित गर्यो । शान्तिपूर्ण रुपले मात्र परिवर्तन सम्भव छ भन्ने एमालेको वैचारिक अडान भन्दा माओवादी जनयुद्ध ठिक बिपरित थियो । शान्तिपूर्ण प्रतिस्प्रर्धाबाट श्रेष्ठता हाँसिल गर्दै राज्यसत्तामा परिवर्तन गर्ने भन्ने जनताको बहुदलिय जनवादका वैचारिक मान्यतालाई जनयुद्धको सफलताले खण्डित गरेको छ । हुन त मदन भण्डारीले पाँचौँ महाधिवेशनमा शान्तिपूर्ण प्रतिस्प्रर्धाबाट परिवर्तनका लागि शक्ति संचय गर्ने मान्यता राखेका थिए । शान्तिपूर्ण प्रतिस्प्रर्धामा अवरोध भए बल प्रयोग पनि गर्न सकिन्छ भन्ने मान्यताले जनयुद्धलाई स्वीकार गर्न कुनै गाह्रो हुँदैन ।
मदन भण्डारी जीवित हुन्थे भने बल प्रयोगको यहि मान्यताका आधारमा उनले जनयुद्धको आलोचना गर्ने थिएनन् होला । र माओजादी जनयुद्धलाई क्रान्तिको रुपमा त्यसबेलै परिभाषित गर्ने थिए होलान् । तर, मदन भण्डारीको अवशानपछि उनको बल प्रयोगको सिद्धान्त छाडेर एमालेले शान्तिपूर्ण निर्वाचनमा भएको प्रतिस्प्रर्धालाई नै सिद्धान्त बनायो । निर्वाचनमा भाग लिनु कुनै सिद्धान्त होइन । यो जनमत जाँच गर्ने एक विधि मात्र हो । यसका आफ्नै सीमा र कमजोरी छन् ।
जनयुद्धका मान्यता प्रचण्डपथ र एक्काईशौं शताब्दीको जनवादमा स्थापित थिए । वैचारिक हिसवाले एक्काईशौ शताब्दीका मान्यता सार्थक सिद्ध भएका छन् । एकतापछि बन्ने पार्टीको सिद्धान्त वा वैचारिक आधार एक्काईशौ सताब्दीको जनवादलाई बनाउनु औचित्यपूर्ण हुन्छ । जबजको प्रतिस्प्रर्धाको मान्यतालाई सिद्धान्त मानेर के क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण सम्भव छ ? सबै कुरा निर्वाचन मात्र हो भन्ने मान्यता कम्युनिष्ट सिद्धान्त र आदर्श हुनसक्छ ?
जुन जनयुद्धले यत्रो परिवर्तन सम्भव तुत्यायो, त्यसलाई स्वीकार गर्न नसक्नु राजनीतिक बेइमानी हो । जनयुद्ध अस्वीकार गर्ने तर त्यसका उपलब्धीको उपभोग गर्ने, प्रचण्डको नेतृत्व स्वीकार गर्ने तर एक्काईशौ सताब्दीको जनवाद अस्वीकार गर्ने कार्यशैली एकताका लागि घातक हुनसक्छ । जनयुद्धका उपलब्धीको सबैभन्दा बढी उपभोग गर्ने एमाले जनयुद्ध र एक्काईशौं सताब्दीको जनवाद स्वीकार गर्न किन आपत्ती ? जनयुद्धको महान उपलब्धी गणतान्त्रिक संविधान पछिको पहिलो निर्वाचनबाट ओली प्रधानमन्त्री बनेका छन् । एमाले पंति र ओली कमरेडलाई जनयुद्ध स्वीकार गर्न केले छेकेको छ ? अहिलेको सन्दर्भमा जनयुद्धका उपलब्धीको सबैभन्दा बढी उपभोक्ता एमाले बनेको छ । तर, एमाले आफुलाई कम्युनिष्ट पार्टी भन्ने र मदन भण्डारीको अनुवाई ठान्ने नेता कार्यकर्ताले जनयुद्ध र एक्काईशौं शताब्दीको जनवाद किन स्वीकार नगर्ने ?
लेनिनले भनेका छन्, बुढो र तदेरीको कुरा छोड, विचार कस्को राम्रो छ हेर । ठूलो र पुरानो पार्टीको मात्र विचार राम्रो र उन्नत हुन्छ भन्ने हुँदैन । दुई कम्युनिष्ट पार्टी बिच एकता हुने हो भने वैचारिक मान्यतामा आधारित भएर गर्नु पर्छ । कुन विचारले परिवर्तन सम्भव बनायो । कुन विचार कम्युनिष्ट आदर्श, मूल्य र मान्यतासँग मेल खान्छ । समाजवाद स्थापनाका लागि कुन विचार क्रान्तिकारी सावित हुन्छ भन्ने बहस हुनु पर्दछ । कम्युनिष्ट पार्टी र आन्दोलनमा ठूलो हुँदैमा क्रान्तिकारी पार्टी भन्ने हुँदैन । वैज्ञानिक विचार र सिद्धान्त खुट्याउन सक्नु पर्दछ । यो नै दुई कम्युनिष्ट पार्टी विचको एकताको आधार बन्नु पर्दछ ।