काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । आज बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले रवीन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नेले देश विकास गर्न नसक्ने बताए । नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गरे ।
उनले देश विकास गर्न पुराना पार्टी काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले परिवर्तन गर्छु भनेर आएका दलहरु अहिले कहाँ छन् ? भन्दै प्रश्नसमेत गरे ।







