Logo

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य: राणा



काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य भएको बताएकी छन् ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेता राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहरुको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताएकी हुन् ।

नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिएकी हुन् । उनले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र कांग्रेसका नेताहरु सफल हुने धारणा राखेकी हुन् ।

पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको गुनासो पनि गरेकी थिइन् । “निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो?”, उनको प्रश्न थियो, “अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।”

उनले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि कांग्रेसले ध्यान दिन जरुरी रहेको बताइन् । “पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा म उहाँको पत्नीका रुपमा चार-पाँच ठाउँमा पुगेकी छु”, उनले भन्नि, “हाम्रा मन्त्रीहरु सरकार सञ्चालनको तयारी अवस्थामै हुनुहुन्न, उहाँहरुले सिक्दासिक्दै मन्त्री पद गइसक्छ । त्यसैले यस विषयलाई घोषणपत्रमै उल्लेख गरेर अघि बढ्नुपर्छ ।”

उनले मुलुकमा कसरी शासन सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रशिक्षण सञ्चालन गर्न आग्रहसमेत गरेकी छन् । निर्वाचन जितेर आउने तर शासन गर्न नजान्दा नेताहरु असफल हुने गरेको उनको टिप्पणी थियो । उनले सामाजिक सञ्जाल र पछिल्लो समय विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को बारे पनि जानकारी लिन आवश्यक रहेको बताउनुभयो । नेता राणाले पार्टीका नेताहरु नै आफूहरु फिल्डमा जाँदा एउटा कुरा भन्ने र काम अर्कै भइरहेको भन्दै यसबीच सन्तुलन आवश्यक रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्