
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई नजिकको सरकार छ । यहाँनेर पहिलो सवाल उठछ “सरकार” त्यसपछि सरकार संवद्ध पार्टी “नेपाल कम्युनिष्ट पार्टी (नेकपा)” र वर्तमान अवस्था ।
वर्तमान अवस्था– २०४७ सालको संविधान तत्कालीन राजा, नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीले स्वीकार गरेको र उत्कृष्ट भनिएको संविधान आखिर उत्कृष्ट सावित भएन । त्यसको विकल्पमा संविधानसभा मार्फत २०७२ सालमा “संविधान” त बन्यो तर, ठूलो संघर्षको बावजुद प्राप्त संविधानप्रति नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, कम्युनिष्ट घटकहरु, जातीय, क्षेत्रीय पार्टी लगायत राजावादीहरुसमेत सन्तुष्ट नरहेको अवस्था छदैछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको धरातलमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार न चीन र उत्तर कोरीयाको जस्तो पार्टी दिशानिर्देशमा चल्न सक्छ, न त केही गोयवल्सवादी मिडिया र यथास्थितिवादीहरुको निशाना झेल्न नै ।
त्यसमाथि सरकार संवद्ध पार्टीले नत सरकारका सवल कामको सर्वसाधारण जनतासम्म पुर्याउन, सरकारका नीति र कार्यक्रमको व्याख्या गर्दै सरकारको प्रतिरक्षा नै गरेको छ । बरु संविधानका गुप्त प्वालहरु खोजी खोजी जनताबाट तिरस्कृतहरुलाई सरकारको भान्सासम्म पुर्याएर जनमतको उपहास गर्न न्वारनदेखिको बल प्रयोग गरेको छ । तर, नीति र कार्यक्रमलाई जनसमक्ष पुर्याउन औचित्य ठान्दैन ।
दुई तिहाई नजिकको सरकार गठन गर्न पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको निर्देशनमा सरकार चलोस, पार्टीकै इशारामा सरुवा बढुवा र नियुक्ति गरोस् र सरकारले पार्टीको अनुमति बिना कुनै निर्णय नगरोस् भन्ने चाहान्छ । तर, कम्युनिष्ट सरकार भएपनि चीन र उत्तर कोरिया जस्तो क्रान्तिकारी शैलीमा अघि बढ्न लोकतान्त्रिक गणतन्त्रको धरातलबाट सम्भव छैन ।
पार्टीको दिशानिर्देश बमोजिम हिड्ने र पार्टीका निर्णय पर्खेर बस्ने समेत परिस्थिति देखिदैन । हिजोको अभ्यासले पनि के बोध हुन्छ भने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि महत्वपूर्ण र दीर्घकालिन असर पर्ने निर्णयहरु जस्तै धर्म निरपेक्षता, गणतन्त्र र शान्ति सम्झौता लगायतका धेरै निर्णयहरु पार्टी निर्देशन पर्खेर बसेको भए सायद सम्भब हुने थिएन । जुन निर्णय पश्चात जबरजस्त पार्टीद्वारा अनुमोदन भएका विषय हुन । लामो समयसम्म “बेबी किङ्ग” को नारा पार्टीद्वारा भएको दवाबको उपज अवश्य थियो ।
आजको सन्दर्भ– देशका कुनै पनि तहमा चुनावको मिति तय हुनासाथ पार्टीका सम्पूर्ण नेतालाई टिकट चाहिने, उमेद्वार हुनुपर्ने, चुनाव पश्चात पार्टी र जनता बिर्सेर स्वतन्त्र हुने जनप्रतिनिधि पार्टीको लगामसमेत चुडाउँछन् । पार्टीको अधिवेशन तय हुन्छ तिनै बेलगामहरु नै फेरी पनि पार्टीको उपल्लो तहमा बिराजमान हुने प्रवृतिबाट ग्रसित आजको पार्टी पद्धति, जनवादी केन्द्रीयता, अनुशासन तथा साँस्कृतिक बिचलनदेखि आर्थिक अपारदर्शिता कम्युनिष्ट चरित्र भित्र कहिल्यै अन्त्य नहुने गरी क्यान्सर झै फैलिएको छ ।
पार्टी कार्यकर्तालाई संगठित र प्रशिक्षित गरेर समयमै गलत प्रवृतिको अन्त्य नगरे नाम मात्रैको कम्युनिष्ट पार्टीको कार्यकर्ता बन्नुको बिकल्प छैन । त्यसैले आजै यथाशिघ्र पार्टी र सबै तहका सरकारमा भएका विकृति र विसंगतिहरु सिँढिको सिरानबाटै सफा गर्न सुरु गरेर पुछारसम्म आइपुग्न जरुरि छ ।