झापा, १२ वैशाख । नेपाली कांग्रेसका झापा जिल्ला उपसभापति केशवराज पाण्डेले मेचीनगर प्रमुखको टिकट खोसिएपछि असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले पावरका भरमा टिकट दिएको भन्दै उनले गुनासो गरेका हुन् । ‘पहुँच र पावरको भरमा टिकट दिनु गलत छ,’ सञ्चारकर्मीसँग पाण्डेले भने, ‘यस्तो दोहारो निर्णयले पार्टीलाई फाइदा गर्दैन ।’
नेपाली काँग्रेसबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार नै प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै काँग्रेस केन्द्रीय संसदीय बोर्डले बुढाथोकीलाई मेचीनगरको प्रमुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।
प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेद्वार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति पाण्डेलाई दिएको थियो ।