
पोखरा, १९ जेठ । पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।
थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गरेका हुन् ।
उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन् ।
यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मत अन्तरले चुनाव जितेका थिए । पाँच हजार आठ सय ४३ मतदाता रहेकामा चुनावमा चार हजार तीन सय ४८ मत खसेको थियो । गणनाका क्रममा चार हजार तीन सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै नौ मत गायब पारिएको थापाको आरोप छ ।
थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा फेरि गणनाको मागसहित निवेदन दिएका थिए । तर फेरि गणना हुन सकेन । हाररजित स्वाभाविक भएको भन्दै उनले सत्य/तथ्य छानबिन गरेर फेरि मतगणनाको माग गरेका हुन् ।






