काठमाडौँ, १४ साउन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुन: एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।
शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।
उनले आफ्नो लागि आगामी चुनावबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए ।
उनले आफ्नो ‘लास्ट इनिङ’ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताए । अध्यक्ष दाहालले पालिका तहको चुनावको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको चुनावमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।
उनले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी पनि दिए ।







