काठमाडौं, १७ फागुन । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको थियो ।
आदिवासी जनजातिको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुन: नामकरण संयुक्त संघर्ष समितिले काठमाडौंको तीनकुनेमा आज विरोध प्रदर्शनसहित सभा गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), प्रदेश नम्बर १ पुन: नामङ्कन संयुक्त संघर्ष समिति लगायतका संघ संस्थाहरूले विरोध प्रदर्शनसहितको सभाको आयोजना गरेका छन् । प्रदर्शनका क्रममा कालो झण्डासहित प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर लगायतका नारा लगाएका थिए ।
२०७९ फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको थियो । प्रदेश १ को नाम कोशी भएपछि एक वर्षदेखि पहिचान पक्षधरहरूले विरोध स्वरुप आन्दोलन गर्दै आएका छन् ।
त्यस अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को पुन: नामङ्कन गरिने दाबी गरेका थिए ।





