Logo

पुन: मतगणनासम्बन्धी रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश



काठमाडौँ, ६ पुस । पुन: मतगणना गराउन मागसहित दायर गरिएका रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

आज प्रारम्भिक सुनुवाईपछि संवैधानिक इजलासले निर्वाचन आयोगसहित विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न कारण देखाउँदै ती क्षेत्रमा पुन: मतगणनाको मागसहित रिट दायर गरिएको थियो ।

प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं.२ का एमाले उम्मेदवार उमाशंकर अरगरिया, धनुषा क्षेत्र नं.४ का कांग्रेस उम्मेदवार महेन्द्र यादव, पर्सा क्षेत्र नं.३ का कांग्रेस उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी, रुपन्देही क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र कपिलवस्तु क्षेत्र नं.३ मा लोसपाका उम्मेदवार रविदत्त मिश्रले पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं.३ (ख) मा जसपा उम्मेदवार विदेश्वर यादव, धनुषा क्षेत्र नं.१ (क) मा जसपाकै उम्मेदवार सुकेश्वर यादव र सुर्खेत क्षेत्र नं.२ (क) मा कांग्रेस उम्मेदवार कालीप्रसाद शाक्यले रिट निवेदन दिएका थिए ।

यस्तै, पुन: मतदानको माग गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले दिएको रिटमा पनि कारण देखाऊ आदेश भएको छ । एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र नं.१ मा पराजित उम्मेदवार खनालले गत मंसिर २७ गते सर्वोच्चमा पुन: मतदान गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले आज विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्