Logo

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी



काठमाडौं, ९ माघ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । यसको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्नेछ ।

२०७७ सालमा मन्त्रिपरिषद्ले पारित गरेको समितिको गठन आदेशमा पनि कथा व्यासलगायत धार्मिक क्षेत्रको काम हेर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ । समितिलाई सघाउन धर्म, संस्कृतिका क्षेत्रमा खुलेका धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक संस्थाले सहयोग गर्नेछन् ।

धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्ने भन्दै कथावाचक एवम् हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट मानिसले आफूलाई जोगाउने गरेको  बताउनुभयो ।

पुराणका कथावाचनलाई आम्दानीको माध्यमका रुपमा मात्र हेरेर व्यवसायीकरण गर्ने क्रमले समस्या निम्त्याउने अध्यक्ष उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्