काठमाडौँ, ९ चैत । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो ।
नभत्किएसम्म भत्काउन जरुरी नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए । उनले भने, “विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण ग¥यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ । पुर्खाको इतिहास मास्न हुँदैन । भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ ।” निर्माणाधीन सङ्घीय संसद्मा सङ्घीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढङ्गको हुनुपर्ने सभापति शर्माले बताएका हुन् ।
बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको मौलिकता, संस्कृतिलाई संरक्षण गर्न समितिको मार्गदर्शनलाई मन्त्रालयले स्वीकार गर्ने बताए । पुराना भवनको प्राविधिक अध्ययनअनुरुप कलाकृति संरक्षण गर्दै नयाँ भवन बनाउँदा पुराना आवरण र महत्व भल्किने हुनुपर्नेमा उनको भनाइ छ ।
सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ भवन प्रविधिमैत्री र व्यवस्थित खालको हुने बताउँदै चैत मसान्तसम्म पुरानो संसद् भवनको संरक्षणका लागि बाक्लो प्लाष्टिकले छोप्ने र पिपलको रुख हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा समितिका सदस्य मदनकुमारी शाहले आधुनिक प्रविधिका नाममा नेपालको कला, संस्कृति मास्न नहुने, राणाकालीन समयमा बनेको सिंहदरबार अहिले पनि अनुकूल रहेको तर निर्माणाधीन सङ्घीय भवन साँघुरो रहेकाले समयमा सचेत रहन जरुरी रहेको बताए ।