
काठमाडौँ, ७ जेष्ठ । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको काँग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोप प्रत्यारोप सुरु भएको हो।
काँग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता-कार्यकर्तासमेत नभएको तथा कतिपय काँग्रेसका कार्यकर्ताले काँग्रेसबाहेक कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अप्ठेरो परेका कारण उनीहरूले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन् । नेकपा माओवादी र नेकपा एसले स्थानीय चुनावमा काङ्ग्रेसबाट पर्याप्त सहयोग नभएको गुनासो गरिरहेका बेला काँग्रेसका नेताहरूबाटै यस्तो धारणा आएको हो ।
स्थानीय तहको निर्वाचनको पुरै परिणाम सार्वजनिक नहुँदै जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले गठबन्धनमा रहेका अन्य दलबाट आफूलाई धोका भएको निष्कर्ष निकालिसकेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।







