काठमाण्डाै, २१ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताको टोली घोषणा गरेको छ ।
विश्वकपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट १२ मा नेपालकी कप्तान पूजा महतो पनि अटाएकी छिन् । टोलीमा उपाधि विजेता भारतका ४, उपविजेता बनेको दक्षिण अफ्रिकाका ३, इङ्गल्यान्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका १/१ जना खेलाडी छन् । पूजा एसोसिएट राष्ट्रबाट टोलीमा पर्ने एकमात्र खेलाडी हुन् ।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ वटै खेलमा हार बेहोरेको थियो भने प्लेअफमा भने मलेसियालाई हराएको थियो । प्रतियोगितामा पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन् ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि दक्षिण अफ्रिकालाई हराउँदै भारतले जितेको थियो । भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।