काठमाडौँ, २ कात्तिक । निर्वाचन आयोगले बारा क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य उमेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण मागेको हो ।
नेकपा (एकीकृत समाजवादी)का उमेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा निर्वाचन आयोगमा वा उमेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न)मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले सो सम्बन्धमा के कसो भएको हो? भनी पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।







