काठमाडौं, २६ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिजो देश नबनेको पीडा थियो भने आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्।
राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गरिरहेको संकटले आफूलाई चिन्तित बनाएको उल्लेख गरे। “नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले भोग्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ,” उनले भने।
उनले भाषण, जादू वा चमत्कारले देश नबन्ने स्पष्ट गर्दै सबै नेपालीले कर्तव्यबोधका साथ पृथ्वीपथमा लाग्नुपर्ने आह्वान गरे। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने उनको भनाइ थियो।
पूर्वराजा शाहले झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्वको वाचा गर्दै सत्तामा पुगेका राजनीतिक दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरचनामा बुझाएको र सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएको स्मरण गराए।
उनले पृथ्वीनारायण शाहले २२ वर्षको उमेरमा सुरु गरेको एकीकरण अभियान सफल भएपछि आधुनिक नेपाललाई चार वर्ण ३६ जातको साझा फुलबारीका रूपमा परिकल्पना गरेको उल्लेख गरे। सबै नेपालीको साझा पहिचान, एकता र दायित्वबोधमार्फत मात्र देश जोगिन सक्ने उनको धारणा रहेको सन्देशमा उल्लेख छ।







