देउखुरी, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ ।
राप्ती उपत्यका देउखुरीको वस्ती विकास तथा शहरी योजना र भवन निर्माणसम्बन्धि एकीकृत मापदण्ड २०८१ छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भविस्यलाई आधार मानेर नमुना राजधानी शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गर्न सबैको साथ, सहयोग चाहिने बताउनुभएको हो ।
‘हामीले राजधानी शहरलाई सबै हिसाबले सुरक्षित शहर बनाउने योजना छ’ उहाँले भन्नुभयो, ‘शहर निर्माण गर्न चाहने स्रोत साधन र बजेटको खोजीमा सरकार लागिपरेको छ ।’
अहिलेसम्म देखिएको शहर अव्यवस्थित हुँदा विपदका घटना बढ्ने र क्षति बढि हुने अवस्था छ । अब बन्ने शहरहरु भुकम्प, बाढीपहिरो लगायतका विपदबाट सुरक्षित हुनेगरी मापदण्ड निर्माण गरिने स्पष्ट पार्नुभयो । शहर निर्माणसँग जोडिएको मापदण्डको पूर्ण कार्यान्वयन गरेर अघि बढ्नुपर्ने भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।
‘मापदण्ड पालना जरुरी छ । अस्तव्यस्त शहर चाहिएको होइन’ उहाँले भन्नुभयो, ‘अस्तव्यस्त शहर हुँदा कस्तो अवस्था आउँछ भन्ने उदाहरण बताइरहनु नपर्ला । तसर्थ शहर निर्माणसँग जोडिएको योजनालाई एकीकृत मापदण्ड बनाएर लागू गर्नुपर्छ ।’
शहरभित्रको सडक, खुला क्षेत्र, हरियाली प्रबर्धनलगायत अन्य हिसाबले स्मार्ट बनाउनेगरी मापदण्डलाई एकीकृत बनाउन थालिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो । ‘बनेका पूर्वाधारलाई सुरक्षित बनाउने अनि नयाँ बन्नेलाईमापदण्डअनुसार अघि बढाउने योजना हो’ उहाँले भन्नुभयो, ‘घरको मापदण्ड, दण्डिको मापदण्ड पनि तोक्नेगरी अघि बढ्दैछौं ।’
मापदण्ड बनाउने, डिजाइन पालना गर्ने र निर्माणमा संलग्नहरुको क्षमता अभिवृद्धि गर्नेगरी कार्यक्रम अघि बढाउन थालिएको छ । हाल प्रदेश प्रशासनिक परिसर क्षेत्रभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १० वटा मन्त्रालयको भवन निर्माणको काम यसै बर्ष सम्पन्न हुने अवस्थामा पुगेको छ भने राजधानी शहर निर्माण गर्न जग्गा विकास कार्यक्रम पनि अघि बढेको छ ।
प्रदेश सरकारले पाँच बर्षको लागि चाहिने २५ अर्ब बजेटको स्रोतको खोजी गर्न विभिन्न दातृ निकायहरुसँग छलफल गरिरहेको छ । २० बर्षभित्र एक खर्ब बजेटको लागतमा राजधानी शहर निर्माण गर्न सकिने प्रस्तावना तयार पारिएको छ ।
इञ्जिनियर र प्राविधिकसँग छलफल
प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ती उपत्यका देउखुरीको वस्ती विकास तथा शहरी योजना र भवन निर्माणसम्बन्धि एकीकृत मापदण्ड २०८१ छलफल गरेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुखसहित प्राविधिक तथा इञ्जिनियरहरुसँग छलफल अघि बढाएको हो । सोमबार र मंगलबार दुई दिन छलफल गरेर एकीकृत मापदण्डलाई अघि बढाइने जनाइएको छ ।
शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको थियो । कार्यक्रममा राप्ती गाउँपालिका, शितगंगा नगरपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिकाका प्रतिनिहरुको सहभागीता थियो ।