Logo

पूर्वीनाकाबाट पेट्रोलियम आयात बढ्दा राजस्व पनि २.५० प्रतिशतले वृद्धि



झापा, ९ पुष । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात २३ करोड ५२ लाख ७० हजार रुपैयाँ अर्थात् ३.१० प्रतिशतले वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्व पनि २.५० प्रतिशत अर्थात् नौ करोड ४२ लाख ९५ हजार रुपैयाँले वृद्धि भएको उनले जानकारी दिए।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

उक्त अवधिमा तीन अर्ब ८२ करोड ७० लाख रुपैयाँ मूल्य बराबरका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै, दुई अर्ब ५३ करोड १६ लाख रुपैयाँ मूल्य बराबरका २६ हजार १२० किलोलिटर डिजेल आयात गरिएको छ।

त्यसैगरी, पाँच महिनामा एक अर्ब एक करोड ६० लाख रुपैयाँ मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख रुपैयाँ मूल्यका तीन हजार ५८० किलोलिटर एटीएफ तथा छ करोड ३१ लाख रुपैयाँ मूल्यका ६८० किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्