झापा, १७ पुस । मेची नदीमा निर्माण सम्पन्न भएको झन्डै दुई वर्षपछि नेपाल-भारत सीमा नाका जोड्ने मितेरी पुलसहितको एसियन हाइवे आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सीमा नाकामा ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै स्थानीयमा उल्लास छाएको छ ।
नेपालतर्फको मेची भन्सार कार्यालय र भारततर्फको नक्सालवारि भन्सार कार्यालयका प्रमुखहरूले आइतबार दिउँसो १ बजे आ-आफ्नो मुलुकको झन्डा फहराउँदै यातायातका सवारीसाधनलाई प्रस्थान गर्न अनुमति दिएर मितेरी पुल सञ्चालनमा ल्याएका हुन् ।
मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र नक्सालवारि भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पाले आ-आफ्नो भूमिमा उभिएर पुल सञ्चालन गर्नुअघि रिबन काटेका थिए ।
मितेरी पुलको लम्बाई ५७५ मिटर रहेको छ । पुरानो मेची पुल नजिकैको पूर्वपट्टि मितेरी पुल बनाइएको हो । उद्घाटन अगावै मितेरी पुलबाट ठुला मालवाहक सवारीसाधनलाई मात्र ओहोरोदोहोरो गर्ने अनुमति दिइएको थियो ।
आजदेखि सवारीसाधनसहित पैदलयात्रीले पनि मितेरी पुल प्रयोग गर्न पाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।
तर त्यसका लागि पनि केही नियम बनाएको छ । ‘पानीटंकी बजार गर्ने जानेहरूको हकमा पुरानो पुल प्रयोग गर्नुपर्ने हुन्छ, नयाँ पुलमाथिबाट टाढा गन्तव्य जानेहरूले मात्र प्रयोग गर्न पाउँछन्,’ उनले भने ।
ट्याम्पो, अटो रिक्सा, मोटरसाइकल र साइकललाई सम्भवतः पुरानो पुल प्रयोग गर्न लगाइन्छ । ‘नाकामा हुने ट्राफिक जाम आजदेखि अन्त्य भएको छ,’ डीएसपी महतोले भने, ‘अब नाकालाई थप व्यवस्थित बनाउन नयाँ र पुरानो दुवै पुल प्रयोगमा ल्याइएको छ ।’






