मेचीनगर, २६ साउन । काँकडभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ ।
नाकाको सुरक्षा र निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ । मेचीनगर नगरपालिका-६ काँकडभिट्टास्थित पूर्व-पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसी क्यामेरा जडान गरिएका छन् ।
सिसी क्यामेराको सवै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्नेछ । कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सिसी क्यामेरा जडान गरेको छ । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सिसी क्यामेरा जडान गर्ने कार्य थालिएको छ । मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन् ।







