झापा, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा एक अर्ब छ करोड ४३ लाख रुपैयाँ अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रुपैयाँले बढेको छ ।
कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस अवधिमा आठ अर्ब ११ करोड ५९ लाख रुपैयाँ मूल्य पर्ने ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो ।
यसैगरी, छ अर्ब २६ करोड ७१ लाख रुपैयाँ मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, सोही अवधिमा दुई अर्ब ५९ करोड रुपैयाँ मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, ६१ करोड २० लाख रुपैयाँ मूल्य पर्ने छ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ ।