Logo

पूर्वीनाका काँकरभिट्टामा व्यापार असन्तुलन, निर्यात ६.६५ प्रतिशतले घट्यो



झापा, ८ पुष । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो।

यद्यपि, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकामा यस वर्ष निर्यात ६.६५ प्रतिशतले घटेको कार्यालयले जनाएको छ।

काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता लगायत रहेका छन्। यस्तै, आयात हुने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन तथा तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गार सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता–चप्पल तथा खनिजजन्य उत्पादन रहेका छन्।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात–निर्यात कारोबारबाट कुल छ अर्ब ८२ करोड दुई लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

प्रतिक्रिया दिनुहोस्