Logo

पूर्वी क्षेत्रमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह



झापा, ११ साउन । देशका धेरै ठाउँमा आज पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ ।

पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले बताए ।

पछिल्लो ५/६ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ ।

डुबान भइरहने होचा ठाउँ र साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, मधेस प्रदेश र प्रदेश-१ मा वर्षा भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्