Logo

पूर्वी पहाडमा अलैंची पुनःरोपण अभियान सञ्चालन, किसान उत्साहित



इलाम, २६ साउन ।  नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैंची पुनःरोपण अभियान सुरु गरिएको हो ।

कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयको आर्थिक तथा अलैंची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैंची व्यवसायी महासंघले अभियानको संयोजन गरेको छ ।

बिहीबार इलामको रोङ गाउँपालिका र शुक्रबार देउमाई नगरपालिकामा अलैँची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ विरुवा रोपण गरेर अभियान सुरु गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुुभयो । उहाले इलाम अलैंचीको उद्गम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट अलैंची मासिन थालेकोले पनि अलैंची पुनःरोपण अभियान यसै जिल्लाबाट सुरु गरिएको उहाले बताउनुभयो ।

प्रदेश तथा स्थानीय सरकार, व्यवसायी, किसान तथा प्राविधिक क्षेत्रसमेत सबै सरोकारवालाको सहभागितामा यो अभियान सुरु भएकोले यसबाट प्रतिफल प्राप्त हुने विश्वास रहेको बताइएको छ ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवास, देउमाई नगरपालिका, वडा नं ६ का वडाध्यक्ष सुरेन वस्नेत, ३ का वडाध्यक्ष पदम कटुवाल , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, उपाध्यक्षहरु सुवास भट्टराई, मातृका घिमिरे , महासचिव नारायण चिमरिया, महासंघका सल्लाहकार पवन विन्दल, भरत चौधरी, अलैंची विकास केन्द्रका प्रमुख राजन परियारलगायतले संयुक्त रुपमा विरुवा रोपेर अभियानको शुभारम्भ गर्नु भएको थियो ।

बिहीबार रोङ गाउँपालिकाको वडा नं ४ किटेनीस्थित सुम्निमा नर्सरी उद्योगमा नर्सरी विरुवा रोपण गरेर र शनिबार देउमाई नगरपालिका ६ मा स्थानीय सुरज वस्नेतको खेतमा उत्पादनयोग्य विरुवा रोपण गरेर अभियान शुभारम्भ गरिएको थियो । त्यहाँ संक्षिप्त औपचारिक कार्यक्रम आयोजना गरिएको थियो भने स्थानीय किसानहरुका समस्या र गुनासाहरु पनि संकलन गरिएको नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताउनुभयो ।

रोङमा अलैंची नर्सरीकै लागि महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको टनेलमा नर्सरीकै लागि चारसय विरुवा रोपण गरिएको छ । यो नर्सरीबाट आगामी वर्ष चार हजार विरुवा उत्पादन हुने र सो विरुवा उत्पादनका लागि पुनः किसानहरुलाई वितरण गरिने अलैंची विकास केन्द्रका प्रमुख परियारले जानकारी दिनुभयो ।

देउमाईमा अलैंचीका विरुवा रोपणका साथै स्थानीय किसानहरुलाई ४ हजार नयाँ विरुवा वितरण गरिएको थियो । परियारले टिस्यु कल्चर प्रविधिबाट अतयन्त सुरक्षित ल्याबमा तयार गरिएकोले यी विरुवा रोगमुक्त र बढी आम्दानी दिने किसिमको रहेको स्पष्ट पार्नुभयो । उहाका अनुसार केन्द्रले अहिले तयार गरेको विरुवाले आगामी ४०–५० वर्षसम्म आम्दानी लिन सकिनेछ । तर, किसानले रोपण प्रविधि, कल–सिम्चाइ र सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो । नेपालमा एक लाख किसान अलैँची खेती तथा व्यवसायमा आबद्ध रहेका छन् ।

मन्त्रालयका सचिव डा. लेखराज दाहालले बिभिन्न कारणले मासिन लागेको अलैंचीले पुनःरोपण अभियानमार्फत पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका अध्यक्ष भट्टराईले महासंघ किसानसँग प्रत्यक्ष जोडिएको संगठन भएकोले यसले किसानलक्षित कार्यक्रमहरुलाई जोड दिइरहेको पनि वताउनुभयो । इलामबाट सुरु भएको अभियानले सुखद परिणाम दिएमा पूर्वदेखि–पश्चिमसम्मका अलैंची उत्पादन हुने जिल्लासम्म अभियान विस्तार गरिने पनि वताउनुभएको छ ।

किसान उत्साहित

यसैबीच यो अभियानप्रति किसानहरुले पनि खुशी व्यक्त गरेका छन् । रोङ गाउँपालिकाका किसान सोमराज लेप्चाले भन्नुभयो– ‘अलैंची मासिरएर निराश बनेका किसानमा रोगमुक्त विरुवा रोपणको यो अभियानले उत्साह जगाइदिएको छ । इलाममा फेरि अलैंचीका बोटहरुले हरियाली छाउनेछ, किसानको आम्दानी बढ्नेछ ।’

यसैगरी, देउमाइका किसान धनसिंह राउतले पहिलोचोटि सरोकारवालाहरु एकैसाथ किसानको बारीमा पुगेको देखेको बताउँदै यसले किसानमा उत्साह थपेको बताउनुभयो । रोगमुक्त र स्वस्थ नयाँ विरुवा रोपणबाट उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको बताउँदै उहाले बेला–बेलामा प्राविधिक सहयोग पाउनुपर्ने आग्रह गर्नुभयो ।

कूल १९ हजार हेक्टरमा उत्पादन हुने अलैँचीबाट वार्षिक ७ देखि ८ अरब रुपैयाँ नेपाल भित्रिने गरेको छ । अघिल्लो वर्षदेखि मूल्य पनि बृद्धि भएकोले अलैंची उत्पादनमा पुनः किसानहरु जागरुक देखिएका छन् ।

नेपालको अलैँची उच्च गुणस्तरको हुने भएकाले विदेशी बजारमा यसको माग उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्