काठमाडौँ, २९ मङ्सिर । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् ।
उच्च अदालत, पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि शुक्रबार धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
विभागले खाणलाई १५ लाख धरौटी लिएर छोडेको थियो । त्यस लगत्तै कारागारबाट खटिएको प्रहरीले खाणलाई अख्तियारको जिम्मा लगाएको थियो । अख्तियारले भने साधारण तारेखमा रिहा गर्यो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले खाणलाई तारेखमा छाडिएको बताए । त्यसअघि अख्तियारले खाणसँग संक्षिप्त बयान लिएको थियो ।
शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी चार कसूरमा जिल्ला अदालत काठमाडौँमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो ।
खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशपछि खाण धरौटी बुझाउन काठमाडौँ जिल्ला अदालतमा पुगेका थिए । त्यहाँ धरौटी बुझाएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेकाले विभागले बयान लिएको थियो । बयान पछि विभागले १५ लाख रुपैयाँ धरौटी लिएर छोड्ने निर्णय गरेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका खाणलाई २०८० वैशाख २७ मा प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको थियो । जेठ १० मा खाण र अर्का पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतका चार कसूरको अभियोगमा मुद्दा दायर भएको थियो । पक्राउ परेका १८ र फरार १२ सहितका प्रतिवादीविरुद्ध दायर मुद्दामा असार १ गते थुनामा रहेका १६ लाई पुर्पक्षका लागि कारागार र २ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।
कारागारमा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध खाणसहितका प्रतिवादीहरुले पुनरावेदनका लागि उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।






