काठमाडौँ, ६ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकारले बाध्य भएर यता पनि बढाउनुपरेको बताएका हुन् ।
उनले भने, ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ, त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौँ । त्यसमा सरकारले लगाएको करलाई कम गरेर उपभोक्तालाई कम गर्ने हो । प्रतिलिटर पेट्रोल र डिजलमा १० रुपैयाँ घटाएका छौँ । त्योभन्दा बढी घटाउने अवस्थामा सरकार पनि रहेन । असार २ गते आएको मूल्यअनुसार २०९ रुपैयाँ २८ पैसामा खरिद गर्नुपरको छ । त्यसमा १० रुपैयाँ घटाएर १९९ पुगेको छ । हामीले खाना पकाउने प्रयोग गर्ने एलपी ग्यासमा भने मूल्य बढाउन दिएका छैनौँ । अहिले प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरेबापत भारतलाई २२ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’







