काठमाडौँ, १६ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।
गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ। बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।
औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन् । खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।