Logo

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू



काठमाण्डाै,५ फागुन । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात शुरू भएको छ ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात शुरू भएको नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रूपमा पेट्रोलियम पदार्थ ल्याउन शुरू गरिएको नेपाल आयल निगम मधेश प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । ‘पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छ’, प्रमुख आचार्यले भन्नुभयो, ‘अहिले पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख शहरका डिपोमा औपचारिक रूपमा वितरण थालिसकेका छौँ ।’

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जमा रहेकाे डिपोमा ४ हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

त्यही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’ को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्यूएस सिस्टम’ तथा पीएमसीसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । विभिन्न कारणले केही दिनअघि मात्र याे पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताउनुभयो ।

यस्तै पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाँडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्