धनकुटा, १२ असार । धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका-६,पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएकाे हाे ।
पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका-४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका-२ का १४ वर्षीय उदय राईको डुबेर ज्यान गएकाे हाे । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकहरुका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा उनीहरु पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा डुबेर बेहाेस भएका बालकहरुको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएकाे थियाे । उनीहरुसँगै धनकुटा नगरपालिका-५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए ।
सन्देश भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी चिरञ्जीवी दाहालले बताए । पौडी खेल्न पोखरी छिरेका साथीहरु बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए । घटनापश्चात जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो । उनीहरुको उपचारका क्रममा धनकुटा अस्पतालमा ज्यान गएकाे थियाे ।