
कैलाली, २१ असार । नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले बजेट निर्माण प्रकरण र उक्त घटना छुपाउन अर्थ मन्त्रालयले सिसिटिभी फुटेज गायब पारेको घटनामा अर्थमन्त्रीसँगै प्रधानमन्त्रीको पनि मिलेमतो रहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्रीको पनि मिलेमतो रहेको बताए ।
गठबन्धन सरकार पूर्णरूपमा असफल भएको भन्दै पोखरेलले एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको बताए । ‘अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ’, उनले भने ।
स्थानीय तहको निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको उनले बताए । आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने पोखरेलको विश्वास छ ।
‘सरकार असफल छ त्यसको विरुद्धमा हामी चुनावमा जान्छौं । नेकपा एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्छौं । आउने निर्वाचनमा बहुमत ल्याउँछौं’, उनले भने ।







