Logo

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ: प्रधानमन्त्री



काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताएका छन् ।

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले गत पुस २६ को प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री दाहालले गत पुस २६ मा बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको धारणा राखेका थिए ।

उनले भने, “अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद् पुन: सस्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ ।”

राष्ट्रपति पदका उम्मेदवार पौडेललाई आठ दलको मात्र होइन १० दलको समर्थन रहेको बताउँदै उनले स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको स्पष्ट पारेका छन् ।

“उनले निर्वाचन जितिसक्नु भएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ”, प्रधानमन्त्री दाहालले भने, “नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ । हामी अहिले पनि राजनीतिक सङ्कट र चुनौतीकै बीचमा छौँ ।”

प्रतिक्रिया दिनुहोस्