बुटवल, २० भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्षसमेत रहेका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकटका हुन् भने रिजार महासचिव शंकर पोखरेल निकटका हुन् ।
मङ्गलवार राती सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्वी रिजालले ४७७ मत प्राप्त गरे । त्यसै गरी अन्य पदाधिकारीहरूमा भने मिश्रित परिणाम आएको छ ।
त्यसै गरी उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत प्राप्त गरे ।
पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत प्राप्त गरे ।
त्यसै गरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३५१ मत प्राप्त गरिन् ।
सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित भए । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मङ्गलवार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।







