Logo

प्रक्रियागत अलमलले विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री



काठमाडौँ, ३ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रक्रियाको अलमल र ढिलासुस्तीका कारण विपद् प्रभावितहरु आफ्नो अधिकार प्राप्त गर्नबाट वञ्चित नहोऊन् भन्ने विषयमा गम्भीर हुन सम्बद्ध क्षेत्रका अधिकारीहरुसँग आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१औँ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले विपद् न्यूनीकरण, विपद्मा परेकाहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुनै पनि कारणले ढिला हुन नहुनेमा ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा गृहमन्त्री लामिछानेले भन्नुभयो, “प्रक्रियामा सहजताका लागि ध्यान दिन जरुरी छ, निर्णय प्रक्रिया ढिला हुँदा र झन्झटिलो हुने गरेका गुनासाहरु आइरहेकाले कसरी छरितो बनाउने भन्नेमा ध्यान पुगोस् । समयमै कार्यसम्पादन गर्न प्रक्रियागत अलमल र कानुनी जटिलताका कारण प्रभावित नागरिक अधिकारबाट वञ्चित नहोस् ।”

उहाँले आउँदो वर्षाअघि नै विपद् पीडितहरु घरभित्र बस्न पाउन भन्ने चाहना आफ्नो रहेको जानकारी गराउँदै छरितो ढङ्गले काम अघि बढाउन मातहतका अधिकारीहरुलाई निर्देशन पनि दिनुभयो ।

पछिल्लो समयमा आगलागीका कारण सैनिक र बालबालिकाको निधन भएकामा दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले कानुनमा रहने लुप होलका कारण प्रभावितलाई थप पीडा हुनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्