Logo

प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय: प्रचण्ड



काठमाडौँ, १३ जेठ । पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट सङ्गठनका संस्थापक अध्यक्ष तथा इञ्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य पुरस्कृत भएका हुन् ।

रु ५० हजार राशिको २०७८ सालको उक्त पुरस्कार आचार्यलाई र २०७९ सालको पुरस्कार दाहाललाई प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । अघिल्लो वर्ष कोरोनाका कारण पुरस्कार प्रदान गरिएको थिएन । वरिष्ठ पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट उक्त सेन्टरका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष बलराम थापा र पूर्वउपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ । थापालाई २०७८ सालको र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

प्रेस सेन्टरले नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गङ्गा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । इच्छुकको २०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले ती पुरस्कार प्रदान गरे । उनले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनले निर्वाह गरेको भूमिका उच्च र अतुलनीय रहेको बताए । सेनको आदर्श, नैतिक बल र निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाएको छ भने उनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पु¥याएको अध्यक्ष दाहालले बताए ।

सेन त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रुपमा हुनुहुन्थ्यो तर पछिल्ला समय पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरे । राजनीतिको कठिन मोडमा सेन पार्टी र जनताका पक्षमा निर्भिकताका साथ उभिएको स्मरण गर्दै अध्यक्ष दाहालले सेनले चलाएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको छ भने ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता जगतले कठिन परिस्थितिमा पनि समाज रुपान्तरणमा योगदान पु¥याउँदै आएको बताए । उनले प्रेस स्वतन्त्रता विरोधी कानून खारेज गर्न, आमसञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारिताको विकासमा ध्यान दिन, आमसञ्चार नीतिलाई कार्यान्वयन गर्न र श्रमजीवी पत्रकारिता ऐनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे । प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कृष्ण सेनले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्