मेचीनगर, २७ असोज । प्रगति सामुदायिक वन उपभोक्ता समूहको पाँचौ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
समूहका अध्यक्ष दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।
उक्त अवसरमा १०० घरपरिवारलाई इन्फारेट चुल्हो, धाइजन एकेडेमीलाई १० हजार बराबरको खेलकुद सामाग्री र अर्जुनधारा नगरपालिका वडा नं.१० बस्ने दुबै मृगौला पिडीत भक्तिमाया धमलालाई १० हजार नगद सहयोग वितरण गरिएको थियो ।
वनका अध्यक्ष निरौलाले प्रतिवेदन प्रस्तुत गर्दै समूहमा मेचीनगर नगरपालिका वडा नं. १२ र १३ तथा अर्जुनधारा नगरपालिका वडा नं. १० र ११ गरि चार वटा वडाका ८०५ घरधुरी उपभोक्ता रहेको बताए ।
उनका अनुसार उपभोक्ताले मागे बमोजिम काठ दिन समूहको सामार्थ्य नरहेको भएतापनि उपभोक्ता को मागलाई मध्यनजर गरि आवश्यकता र आवश्यक अनुगमन गरि बन्दै गरेको र बन्न बाँकी घरहरूलाई प्राथमिकताको आधारमा काठ प्रदान गर्ने गरिएको बताएका हुन् ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधारा नगरपालिका वडा नं.११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, विभिन्न राजनितीक दलका नेतालगायतले आ-आफ्ना धारणा राखेका थिए 
समूहका उपाध्यक्ष धनबहादुर विश्वकर्माले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय सचिव विवेक सुन्दासले गरेका थिए ।






