काठमाडौँ, ६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आउँदो सङ्घ र प्रदेश चुनावबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गरेका छन् ।
उनले भने, ‘अब एक पटक फेरि पुनर्स्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनर्स्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने चुनावमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एक पटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’
अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको सङ्ख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एक पटक फेरि सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।







