मोरङ, ३१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनविश्वास दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ ।
शनिबार मोरङको उर्लाबारीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै षड्यन्त्र पूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ, उनीहरूसँग बसेर दुःख–सुख बाड्यौं । यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’
पूर्वी नेपालका झापा र मोरङ जिल्लामा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएको कारण षड्यन्त्रहरू भइरहेका बताउनुभयो।