Logo

प्रचण्डको भिडियो सन्देश: “सत्ता मेरो लक्ष्य होइन, परिवर्तन नै मेरो प्रतिबद्धता”



काठमाडौं, १८ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ले आइतबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत आफू सत्ता प्राप्तिको दौडमा नभई देशमा दीर्घकालीन परिवर्तनको पक्षमा रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत जेनजी र युवा पुस्तालाई लक्षित गर्दै उनले आफूलाई परम्परागत नेताहरूको समूहबाट अलग रहेको दाबी गरे।

प्रचण्डले सत्ताको भागबण्डा र राजनीतिक सम्झौताले देशलाई बन्धक बनाएको आरोप लगाउँदै त्यस प्रकारको राजनीतिमा सहभागी हुन नचाहेको स्पष्ट पारे। “म फरक बाटोमा छु। मेरो काम र निष्ठालाई समयले नै मूल्यांकन गर्नेछ,” उनले भने।

आफ्नो व्यक्तिगत जीवनमा ठूलो क्षति भोगिसकेको उल्लेख गर्दै उनले अब शक्ति वा पदको लोभ नरहेको बताए। उनले यो संघर्ष व्यक्तिगत स्वार्थका लागि नभई सहिदहरूको सपना पूरा गर्ने यात्राको हिस्सा भएको धारणा व्यक्त गरे।

प्रचण्डले देशलाई सही दिशामा लैजान आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै परिवर्तन अपरिहार्य भएको उल्लेख गरे। “म यो सुनिश्चित गर्नेछु कि परिवर्तन भएरै छाड्छ,” उनले भावुक हुँदै भने।

सामाजिक सञ्जालमा फैलिने भ्रमबाट सतर्क रहन युवालाई आग्रह गर्दै उनले नयाँ नेताहरूलाई बारम्बार परीक्षण गर्ने समय नरहेको पनि बताए। उनका अनुसार अबको प्राथमिकता स्थायित्व, स्पष्ट दिशा र दीर्घकालीन सोचसहितको नेतृत्व हुनुपर्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्