काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृ सङ्गठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
शुक्रवार वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधान सभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन भइ चुनावमा जित हासिल गराउने अभियान सञ्चालन गर्न योङ कम्युनिस्ट लिग(वाईसीएल)लाई निर्देशन दिएका हुन् । सडकमा होस् वा चुनावमा, युवाको भूमिका निर्णायक हुनुपर्ने उनको भनाइ छ ।
प्रचण्डले भने, ‘क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । पहिलो संविधान सभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरूले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् ।’







