Logo

प्रचण्डमाथिको मुद्दा जनयुद्धमाथिको आक्रमण: विप्लव



काठमाडौँ, २६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरूलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको जिकिर गरेका छन् ।

शुक्रवार चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको दाबी गरेका हुन् ।

उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरू तयार रहेको बताए ।

उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगतरूपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले त्यो मुद्दालाई आफूहरूले अस्वीकार गर्ने बताएका हुन् ।

उनले भने, ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । यो गणतन्त्रलाई सम्पूर्णरूपले पश्चगामी र दलाल पुँजीपति वर्गको हातमा हाल्दिने षड्यन्त्र हो । विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नुहुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ । प्रश्न उठ्छ किन? किनकि क्रान्ति भनेको पुरानो सत्ताले खडा गरेका अन्तरविरोधहरू, समस्याहरू, सङ्कटहरू, दमन, उत्पीडनहरूको विरुद्धमा हुने चिज हो । त्यो नागरिकसँग सम्बन्धित कुरा हो । पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो । त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहिँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ । त्यसैले हामीले अस्वीकार गरेका छौँ । यसको जवाफमा हामीले के भनेका छौँ भने- प्रचण्डजीहरूले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरूको कुरा हो । तर जनयुद्धलाई अपराधीकरण गर्ने र जनयुद्धका उपलब्धिहरूलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । र त्यसको कुनै पनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्धमाथिको आक्रमण हो ।’

प्रतिक्रिया दिनुहोस्