काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् ।
सहिद यदुकुमार गौतमको २४औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले प्रचण्डले जनताले रुचाएको शासनको नेतृत्व गर्न नचाहेको टिप्प्णी गरेका हुन् ।
एमालेसँगको गठबन्धन बाह्रय शक्तिलाई मन नपरेको उनले जिकिर गरे । केही समयअघि शक्तिराष्ट्रका प्रतिनिधि नेपाल आउने क्रम बढेको र त्यसको नतिजास्वरूप समीकरण बदलिएको उनको भनाइ छ ।
माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दाको माग बिर्सिएको आरोप पनि पोखरेलले लगाए । “जससँग माग राखेर सशस्त्र आन्दोलन सुरु गरियो, उसैलाई राष्ट्रपति बनाउन समर्पित हुने आन्दोलन,” पोखरेलले भने, “शेरबहादुर देउवासँग ४० बुँदे माग राखेर सुरु भएको सशस्त्र आन्दोलन, जसको जगमा १७ हजार मान्छेले बलिवेधीमा होमिनुपर्यो । त्यो आन्दोलनको गन्तव्य के रहेछ त भन्दा नेपाली कांग्रेससँगको सहकार्य ।”







