काठमाडौँ, ५ चैत । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको विश्वास गुमाइसकेको दाबी गरेका छन् ।
राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली नागरिकले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले नागरिकले केही हुन्छ कि भनेर गरेको विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाएका थिए ।
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरू ‘मरेको लाश’ जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।







