कास्की, २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवलाई बुधबार सम्बोधन गर्दै उनले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको बताएका हुन् ।
’म मेरो जन्मथलोमा आइपुग्दाको हर्ष शब्दमा व्यक्त गर्न सक्दिनँ । मसँग अब धेरै वर्ष छैन । तपाईंहरूको आशीर्वाद लाग्यो, तपाईंहरूको माया र शुभकामनाले काम गर्यो भने मलाइ लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’, उनले भने, ‘यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’
उनले आफ्नो पहिलो र दोस्रो प्रधानमन्त्रीत्वकालको समीक्षा पनि सुनाएका थिए ।
‘पहिलो कार्यकाल विधि र प्रक्रिया सिक्दैमा बित्यो, सोचे जसरी काम गर्न सकिनँ’, उनले भने, ‘दोस्रो कार्यकाल मैले देशका लागि केही महत्वपूर्ण काम गरेँ भन्ने लागेको छ ।’







