Logo

प्रचण्डले भने, ‘संरक्षकबाट नै खुलेआम संविधान मिच्ने काम भयो’



काठमाडौँ, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताए ।

“अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानीबुझी, नजानेर, झुक्किएर भन्ने होइन । जानीबुझी संविधान मिच्ने जो काम भएको छ, यो सामान्य होइन,” उनले भने, “यो हजारौँको बलिदानबाट, लाखौँलाख किसानहरुको, मजदुरहरु, उत्पीडितहरुको आन्दोलनबाट प्राप्त भएका उपलब्धि खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी हो । यसलाई रोक्न अरु कसैले सक्दैन । जनताले र परिवर्तनकारी शक्तिहरुको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ ।”

प्रचण्डले संरक्षकबाट नै जानीबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे । उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए । उनले आफूहरुले शतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताए ।

“हामीले आफ्नो शतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्बासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ,” उनले भने, “मैले यो कुरा अमूर्त कुरा गरेको होइन । मैले मूर्त रुपमा भन्दैछु ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार गरेको प्रचण्डको भनाइ छ । उनले प्रतिगमनको फण्डाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्