काठमाडौँ, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन् ।
काठमाडौँमा आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै गठबन्धनबाट भाग्न खोजेको बताए ।
प्रचण्डसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गर्दै ओलीले अहिले धोका दिएको बताएका हुन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डले एमालेसँग दुई महिनाको सहकार्य धेरै कठिन भएको बताएको प्रसङ्गमा ओलीले भने, ‘हो, साँच्चै उहाँलाई गाह्रो भएको थियो । किनभने उहाँ हरियो देखेपछि दाम्लो छिनालेर जान खोज्ने । म जान नदिने, उहाँलाई गाह्रो भएको थियो ।’
ओलीले प्रधानमन्त्री प्रचण्ड हातमा चक्कु लिएर बस्ने तर फूल लिएर बसेको छु भन्ने गरेको टिप्पणी गरे । उनले भने, ‘उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो । तर मलाई भने फूल लिएर बसेको छु, तपाईँलाई भ्रम नपरोस् । मैले फूल लिएको हो हातमा । यो चक्कुजस्तो देख्नु भयो होला तपाईँले । भ्रम हो यो । यो चक्कु होइन, फूल हो भन्नुभयो । तपाईँले भनेपछि फूलै हो नि । किन होइन? भन्दै बसेँ म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँट्न, छकाउन अप्ठयारो मान्नुहुन्न ।’







