काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।
शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार साथ अगाडि बढाउने निर्णय गर्दै कारण देखाउ आदेश दिएको हो ।
गएको कात्तिक महिनामा अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दिएका थिए ।
त्यस बेला दरपिठ गरिदिएका निवेदनहरूको दरपिठ बदर गर्न सर्वोच्च अदालतले फागुन १९ गते आदेश दिएपछि मङ्गलवार त्यो रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको थियो ।
२०७६ सालमा काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वका बेला मारिएका पाँच हजार मानिसको आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिसँग रिट जोडिएका छन् ।