काठमाडौँ, २१ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन् ।
जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ । अध्यक्ष प्रचण्डले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।
उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउने भएका छन् । जापानमा रहँदा प्रचण्डले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।







